नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन्।

संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब दिने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले बताए। सबै सांसद र सांसदका स्वकीय सचिवलाई पार्टीको खातामा रकम हाल्न भनेको छ।

सबै सांसदसहित प्रदेश र स्थानीय तहको समेत जम्मा गरी एकमुष्ट रूपमा छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए।

र्‍यापर बादशाहले दोस्रो श्रीमती ईशा रिक्खीसँग सम्बन्धविच्छेद गरे

काठमाडौं। भारतीय र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै अलग हुने घोषणा गरेका छन्।

दुवैले सोमबार राति आ–आफ्नो इन्स्टाग्राम अकाउन्टबाटमा पोस्ट गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका हुन्।

बादशाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूहरूबीच आपसी सहमतिमा अलग हुने निर्णय भएको बताएका छन्।

उनले फ्यान तथा सञ्चारमाध्यमलाई यो समयमा आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। साथै, आफ्नो सम्बन्धबारे कुनै पनि अनुमान नगर्न पनि उनले अनुरोध गरेका छन्।

पछिल्ला केही सातादेखि बादशाह र ईशाबीच सम्बन्धमा खटपट रहेको खबर सार्वजनिक हुँदै आएको थियो।

को हुन् ईशा रिखी ?

ईशा रिखी चर्चित पञ्जाबी अभिनेत्री तथा मोडल हुन्। उनले सन् २०१३ मा पञ्जाबी फिल्म ‘जट्ट बोय पुट्ट जट्टां दी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

त्यसपछि उनी अमरिन्दर गिलसँग ‘ह्याप्पी गो लक्की’ मा देखिएकी थिइन्। उनले ‘बडे चंगे ने मेरे यार कमीने’, ‘ह्वाट द जट्ट’ र ‘अरदास’ लगायतका पञ्जाबी फिल्ममा पनि अभिनय गरेकी छन्।

पञ्जाबी सिनेमामा लोकप्रियता हासिल गरेपछि ईशाले सन् २०१८ मा ‘नवाबजादे’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। फिल्ममा राघव जुयाल, पुनीत पाठक र धर्मेश येलान्डे मुख्य भूमिकामा थिए।

बादशाह र ईशाको सम्बन्धमा तनाव रहेको खबर जुलाईदेखि सार्वजनिक हुन थालेको थियो। जुलाई २६ मा ईशाले बादशाहसँगका केही तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै ‘हरेक आँधी एउटा सिकाइ हो’ भन्ने आशयको सन्देश लेखेकी थिइन्। त्यससँगै उनले दुःखी अनुहारको इमोजी पनि राखेकी थिइन्।

त्यसपछि ईशाले अर्को नोटमा लामो समयसम्म डरका कारण आफू मौन बसेको, तर अब आत्मसम्मानका लागि बोल्न थालेको उल्लेख गरेकी थिइन्।

ईशा रिखीले यसै वर्ष जुनमा इन्स्टाग्राममा आयोजित ‘आस्क मी एनिथिङ’ सत्रका क्रममा बादशाहसँग आफ्नो विवाह भएको पुष्टि गरेकी थिइन्। यद्यपि विवाहपछि पनि दुवैले सार्वजनिक रूपमा एकअर्काबारे धेरै कुरा गर्नबाट जोगिँदै आएका थिए।

यो बादशाहको दोस्रो सम्बन्धविच्छेद हो। यसअघि उनले सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए। सन् २०१७ मा उनीहरूकी छोरी जन्मिएकी थिइन्, जसको नाम जेसेमी ग्रेस मसीह सिंह हो।

आपसी मतभेदपछि बादशाह र जैस्मिन सन् २०२० मा अलग भएका थिए। त्यसपछि बादशाहको जीवनमा ईशा रिखी आएकी थिइन्।

दीपा सिम्खडासँग फोनमा रुँदै एलिनाले भनिन्- गाली खानै जन्मेकी रैछु

काठमाडौं । बाढी पीडितका लागि २५ हजार रुपैयाँ सहयोग गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेकी चर्चित गायिका एलिना चौहान निकै मर्माहत बनेकी छिन् । आफूमाथि आएका गालीले परिवारका सदस्यहरूलाई समेत असर गरेको उनको गुनासो छ ।

कन्टेन्ट क्रियटर तथा व्यवसायी दीपा सिम्खडाले एलिनासँग डेढ घण्टा लामो टेलिफोन कुराकानी भएको जानकारी दिँदै उनको कारुणिक अवस्थाबारे एउटा भावुक स्टाटस लेखेकी छिन् । दीपाका अनुसार एलिना फोनमा रोइरहेकी थिइन् र उनले आफूलाई देशप्रति सच्चा हुँदा पनि अपराधीको जस्तो व्यवहार गरिएकोमा दुःख व्यक्त गरिन् ।

एलिनालाई उद्धृत गर्दै दीपाले लेखेकी छिन्, ‘म त सहयोग गर्दा पनि गाली खान्छु भने अब अरू के काम गर्ने मैले यो पृथ्वीमा बसेर ? गाली खानै जन्मेकी रैछु ।’

आफूले रकम ब्लर गरेर १० रुपैयाँ मात्र राखेर पोष्ट गरेको भए कसैले केही नभन्ने तर आफ्नो मनले देशप्रति सच्चा हुन सिकाएको एलिनाले सुनाएकी थिइन् ।

अहिले सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेकी एलिनाले आफू टाढा हुँदा नेपालमा रहेका आमाबुबाले सामाजिक सञ्जालका नकारात्मक कमेन्टहरू हेरेर औषधि खानुपर्ने अवस्था आएको बताइन् ।

एलिनाको भनाइ उद्धृत गर्दै दीपा लेख्छिन्, ‘मलाई आएका गालीहरू हेर्न नसकेर मेरा बाउआमा औषधि खान बाध्य हुनुभएको छ । म संसार नै किन नजितूँ, तर मैले गर्दा मेरा बाउआमाले औषधि खानुपर्ने हो भने त्यो जितको के अर्थ ?’

दीपाले एलिना अहिले एउटा यस्तो व्यक्तिगत पीडाबाट गुज्रिरहेको खुलासा गरेकी छिन् जुन कुरा उनले अहिले बाहिर ल्याउन चाहेकी छैनन् । आफ्नो व्यक्तिगत दुःखभन्दा देशको दुःख ठूलो ठानेर उनले ती कुराहरू गोप्य राखेको दीपाको दाबी छ ।

दीपाले लेखेकी छिन्, ‘सायद केही समयपछि तपाईँहरूले आफैँ थाहा पाउनुहुनेछ । त्यतिबेला मात्र थाहा होला, अहिले हामीले नदेखेको कति ठूलो कुरा ऊ आफैँभित्र बोकेर हिँडिरहेकी रहिछे भनेर ।’

सुदूरपश्चिम सरकारका राजनीतिक नियुक्तिमा एमाले प्रदेश कमिटी ‘बाइपास’, प्रदेश अध्यक्षले ओलीलाई लेखे पत्र

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारअन्तर्गत हुने राजनीतिक नियुक्तिमा प्रदेश कमिटीलाई ‘बाइपास’ गरिएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसीले पार्टी केन्द्रीय कमिटीलाई पत्र पठाउँदै प्रदेशअन्तर्गत हुने राजनीतिक नियुक्ति प्रदेश कमिटीको सिफारिसमा मात्रै गर्न आग्रह गरेका छन्।

केही दिन पहिले प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा नेकपा एमालेको तर्फबाट दुई जना सदस्य नियुक्त गरेको थियो । उक्त नियुक्ति पछि प्रदेश कमिटीले केन्द्रीय नेतृत्वलाई प्रदेशको समन्वयमा यस्ता नियुक्तिहरू हुनुपर्ने सङ्केत गर्दे पत्र पठाएको हो ।

आज (मङ्गलवार) पठाइएको पत्रमा प्रदेश कमिटीको १२औँ सचिवालय बैठकको निर्णयअनुसार प्रदेशअन्तर्गत हुने विभिन्न राजनीतिक नियुक्ति विधानमा भएको प्रदेश कमिटीको अधिकारका आधारमा कमिटीको सिफारिसमा हुनुपर्ने उल्लेख गरिएको छ।

तर, प्रदेश कमिटीलाई जानकारी नै नदिई ‘पार्टी केन्द्रीय नेतृत्वको निर्देशन’ भन्दै विभिन्न राजनीतिक नियुक्ति गरिँदै आएको भन्दै पत्रमा असन्तुष्टि जनाइएको छ। यस्ता कार्यले पार्टीभित्र अन्तरविरोध बढाएको प्रदेश कमिटीको निष्कर्ष छ।

प्रदेश सरकारअन्तर्गत हुने राजनीतिक नियुक्तिमा प्रदेश कमिटीको सिफारिसमा मनोनयन तथा नियुक्तिको व्यवस्था गर्न पार्टी केन्द्रीय कमिटीको लिखित रूपमा ध्यानाकर्षण गराउने निर्णय भएको पत्रमा उल्लेख छ।

प्रदेश कमिटीले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने राजनीतिक नियुक्तिमा प्रदेश कमिटीसँग समन्वय र परामर्श नगरी निर्णय नगर्न पनि पार्टी नेतृत्वसँग आग्रह गरेको छ।

धरानमा आजदेखि श्रम संस्कृतिको केन्द्रीय समिति बैठक, सुदन समूहलाई बोलाइएन

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानको होटल गोर्खामा बस्दैछ । पूर्वमन्त्री सुदन किराती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन ।

चार महिनाअघि किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृतिसँग एकता गरेका थिए । किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य सहित १८ जना पार्टी एकतामा समावेश भए । एकताअघि श्रम संस्कृतिमा २३ केन्द्रीय सदस्य रहेकोमा एकतापछि ४१ सदस्यीय बनेको थियो ।

एकतापछि हर्क स्वयम्ले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट पार्टीको तर्फबाट सुदन कोशीमा मुख्यमन्त्रीको उम्मेदवार हुने घोषणा गरे । सुदन निकट एक नेताका अनुसार भावी मुख्यमन्त्रीको उम्मेदवारको रूपमा उनको नाम पार्टीपंक्तिमा सर्वसम्मत जस्तै थियो ।

ती नेताले भने, ‘हरेक कार्यक्रममा भावी मुख्यमन्त्रीको रूपमा कार्यकर्ताले नाराबाजी गर्थे । पूर्वी नेपालमा हातेमालो कार्यक्रम लिएर सुदन किराती कम्मर कसेर लागेपछि धेरै बहालवाला जनप्रतिनिधि समेत पार्टीमा आउने जनलहर चलेको थियो ।’

तर, हर्क साम्पाङले सुदन समूहलाई केन्द्रीय समिति बैठकमै नबोलाएपछि दुई पक्षको मनमुटाव सतहमा आएको छ । हर्कको फेसबुक केन्द्रित गतिविधिप्रति किराती पछिल्लो समय निकै असन्तुष्ट छन् । पार्टी एकता नै बिथोलिनेसम्मको अवस्था आएको यो समूहका नेताहरु बताउँछन् ।

स्रोतका अनुसार आज बैठक बस्न लागेको भनेर सुदन किरातीलाई थाहा पत्तो नै दिइएको थिएन । हर्कसँग उनको प्रत्यक्ष सम्पर्क नभएको धेरै दिन भइसक्यो ।
स्रोतले भन्यो, ‘हर्क साम्पाङले फेसबुकबाटै पार्टी चलाइरहनुभएको छ । कसैसँग पनि छलफल र सरसल्लाह गर्नु हुन्न । सुदन किरातीसँग पछिल्लो समय कुनै सम्पर्क छैन ।’

किरातीले साम्पाङसँग सम्पर्क नभएपछि आफूहरुलाई नबोलाउनुको कारणबारे पार्टीका अन्य नेताहरुसँग बुझेका थिए । ती नेताहरुले आजको बैठकमा एकताको निर्णय अनुमोदन गरेर भोलिबाट एकीकृत बैठक बस्ने जवाफ दिएका छन् । तर किराती यसमा आश्वस्त छैनन् । उनले पनि भावी रणनीति बनाउन आफू निकटहरुसँग छलफल थालेको स्रोतले बतायो ।

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, कहाँ को ?

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।

शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक छन् भने सिंह विज्ञान संकायकी प्राध्यापक छिन् ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन् ।

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बाढी प्रभावितलाई एभरेष्ट बैंकको ३ करोड ११ लाख बढी सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र बैंकका कर्मचारीहरूको व्यक्तिगत योगदान समेत गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो ।

सहयोग रकममध्ये बैंकले संस्थागत तर्फबाट २ करोड ५१ लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरिएको बैंकले जनाएको छ ।

नगद आर्थिक सहयोगका साथै बैंकका कर्मचारीहरूले आफ्नै सक्रियतामा संकलन गरेका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रमा वितरणका लागि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को समयमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्थानीय निकायहरूप्रति बैंकले आभार प्रकट गरेको छ ।

ग्रीन आर्मीलाई वैधता दिएकोमा एमालेको आपत्ति, तत्काल कारबाही गर्न माग

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले ग्रीन आर्मीलाई वैधता दिएकामा आपत्ति जनाएका छन् । विपद्का बेला यस्तो कार्य अनुचित भएको भन्दै उनले कारबाही माग गरेका छन् ।

नेपालप्रेससँग प्रतिक्रिया दिँदै उनले नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र संविधान र कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेकाले नेपाली सेना नै नेपालको एक मात्र संवैधानिक सैनिक संगठन रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ग्रीन आर्मी कसले, कुन उद्देश्यले गठन र दर्ता गरेको हो र यसको नाम, संरचना र सैन्य स्वरूपलाई कसले र कुन कानुनी आधारमा वैधता दिइयो ?’ उनले राज्यले नै यो विषयमा स्पष्ट र सार्वजनिक जवाफ दिनु पर्ने बताएका छन् ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाहेकका कुनै पनि समानान्तर सुरक्षा वा सैन्य संरचनालाई नेपालको संविधान र कानुनले नचिन्ने भएकाले कानुन र संविधानले नचिनेका कुनै पनि सैन्य स्वरूपका संरचना तत्काल खारेज गरिनु पर्ने बताए ।

‘कुनै पनि बहानामा छद्म रूपमा धार्मिक, साम्प्रदायिक वा अन्य कुनै रंगका सेना वा अर्धसैनिक संरचना निर्माण गर्ने र मुलुकलाई योजनाबद्ध रूपमा द्वन्द्व तथा गृहयुद्धतर्फ धकेल्ने प्रयास स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘राज्यको सुरक्षा संरचनामाथि समानान्तर शक्ति खडा गर्ने छुट कसैलाई छैन । यस्तो संवेदनशील विषयलाई सामान्य घटनाजस्तो लिएर पन्छाउन मिल्दैन।’

उनले यस विषयमा सरकार गम्भीर बनेर तथ्य सार्वजनिक गर्न र संविधान तथा कानुनविपरीत देखिने कुनै पनि संरचना तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गर्न तत्पर हुनु पर्ने बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि हुने कुनै पनि षड्यन्त्र क्षम्य हुन सक्दैन।’

कागेश्वरी मनोहराकी इन्जिनियर दीपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की ६४ हजार रूपैयाँ घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको हो ।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा प्रमुख इन्जिनियर (सातौँ तह) पदमा कार्यरत कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’ (Structure Analysis) को काम स्वीकृत गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ ।

उनले पटक-पटक दुःख र हैरानी दिँदै बार्गेनिङ गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

इन्जिनियर कार्कीसँगै घुस लेनदेनमा मध्यस्थ गरेकी आस्मा कार्कीलाई पनि पक्राउ गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई नगरपालिकाको थलीस्थित डाँछी कार्यालयबाट सोमबार नियन्त्रणमा लिइ आज विशेष अदालतबाट म्याद थप गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

बाढीमा ज्यान गुमाउनेको संख्या १११४ पुग्यो, करिब ४ हजार अझै बेपत्ता

काठमाडौं । बाढीमा अहिलेसम्म १११४ जनाको मृत्यु पुष्टि भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अहिले बिहान ९ बजेसम्मको अपडेटअनुसार सबैभन्दा धेरै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ ।

यस्तै, तनहुँमा ३८, धादिङमा ५९, गोरखामा ६६ र रसुवामा ४१ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।

अझै पनि ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिक रहेका छन् ।

हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । नेपाली सेनाको हवाई उडानमार्फत मात्र ४०९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ ।

घाइते भएका २१२ जनामध्ये १८२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

उद्धार र सुरक्षाका लागि कुल २१३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा ९१९९ नेपाली सेना, ७९१२ नेपाल प्रहरी र ४२०३ सशस्त्र प्रहरी बलका जवानहरू रहेका छन् ।

प्रभावित क्षेत्रका ३४५३ व्यक्तिहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ । सबैभन्दा धेरै नुवाकोटमा २४६६ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

संघीय सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । अन्य प्रभावित १५ पालिकाहरूका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ ।