चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता भन्छन्- नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको जानकारी पाएका छौं

१२ भदौ, काठमाडौं । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किँदा यो अहिलेको विपत्ति आएको ब्रिफिङ गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘ चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्याङ्कन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो’ उनले भनेका छन् । उनले बाढीको विषयमा आज चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णयहरू प्रभावकारी रुपमा लागु गर्ने उल्लेख गरेका छन् ।

चीनको सञ्चार माध्यम सीजीटीएनले उच्च भेगमा रहेको ग्लेसियर पग्लिएर ताल बनिरहेको भन्दै केही बेरअघि एएटा ड्रोन तस्बिर सेयर गरेको छ ।

आज काठमाडौंमा किन विद्युत् अनियमित ?

१२ भदौ, काठमाडौं । आज काठमाडौंमा विद्युत् आपूर्ति अनियमित बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’ मा रहेका बेला खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यका सहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको हो ।

प्राधिकरणका अनुसार बिहान ६:४० बजेदेखि हेटौंडा-अमलेखगञ्ज र कमाने-अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर-खुर्कोट–खिम्ती-भक्तपुर-स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो ।

यसै क्रममा बिहान ८:५२ बजे खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट-१ को तार चुडिएर लाइन ट्रिप भएको थियो । त्यसपछि बिहान ९:१८ बजे सोही प्रसारण लाइनको सर्किट-२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद हुँदा काठमाडौं उपत्यका सहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति यथाशीघ्र पुनर्स्थापना गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो । भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको हो ।

वैकल्पिक व्यवस्था मार्फत बिहान ९:४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुन: सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

हाल सम्बन्धित प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मतसम्भारको काम गरिरहेको छ । प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।