दृश्य टिभि
र्यापर बादशाहले दोस्रो श्रीमती ईशा रिक्खीसँग सम्बन्धविच्छेद गरे
काठमाडौं। भारतीय र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै अलग हुने घोषणा गरेका छन्।
दुवैले सोमबार राति आ–आफ्नो इन्स्टाग्राम अकाउन्टबाटमा पोस्ट गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका हुन्।
बादशाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूहरूबीच आपसी सहमतिमा अलग हुने निर्णय भएको बताएका छन्।
उनले फ्यान तथा सञ्चारमाध्यमलाई यो समयमा आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। साथै, आफ्नो सम्बन्धबारे कुनै पनि अनुमान नगर्न पनि उनले अनुरोध गरेका छन्।
पछिल्ला केही सातादेखि बादशाह र ईशाबीच सम्बन्धमा खटपट रहेको खबर सार्वजनिक हुँदै आएको थियो।
को हुन् ईशा रिखी ?
ईशा रिखी चर्चित पञ्जाबी अभिनेत्री तथा मोडल हुन्। उनले सन् २०१३ मा पञ्जाबी फिल्म ‘जट्ट बोय पुट्ट जट्टां दी’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्।
त्यसपछि उनी अमरिन्दर गिलसँग ‘ह्याप्पी गो लक्की’ मा देखिएकी थिइन्। उनले ‘बडे चंगे ने मेरे यार कमीने’, ‘ह्वाट द जट्ट’ र ‘अरदास’ लगायतका पञ्जाबी फिल्ममा पनि अभिनय गरेकी छन्।
पञ्जाबी सिनेमामा लोकप्रियता हासिल गरेपछि ईशाले सन् २०१८ मा ‘नवाबजादे’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। फिल्ममा राघव जुयाल, पुनीत पाठक र धर्मेश येलान्डे मुख्य भूमिकामा थिए।
बादशाह र ईशाको सम्बन्धमा तनाव रहेको खबर जुलाईदेखि सार्वजनिक हुन थालेको थियो। जुलाई २६ मा ईशाले बादशाहसँगका केही तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै ‘हरेक आँधी एउटा सिकाइ हो’ भन्ने आशयको सन्देश लेखेकी थिइन्। त्यससँगै उनले दुःखी अनुहारको इमोजी पनि राखेकी थिइन्।
त्यसपछि ईशाले अर्को नोटमा लामो समयसम्म डरका कारण आफू मौन बसेको, तर अब आत्मसम्मानका लागि बोल्न थालेको उल्लेख गरेकी थिइन्।
ईशा रिखीले यसै वर्ष जुनमा इन्स्टाग्राममा आयोजित ‘आस्क मी एनिथिङ’ सत्रका क्रममा बादशाहसँग आफ्नो विवाह भएको पुष्टि गरेकी थिइन्। यद्यपि विवाहपछि पनि दुवैले सार्वजनिक रूपमा एकअर्काबारे धेरै कुरा गर्नबाट जोगिँदै आएका थिए।
यो बादशाहको दोस्रो सम्बन्धविच्छेद हो। यसअघि उनले सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए। सन् २०१७ मा उनीहरूकी छोरी जन्मिएकी थिइन्, जसको नाम जेसेमी ग्रेस मसीह सिंह हो।
आपसी मतभेदपछि बादशाह र जैस्मिन सन् २०२० मा अलग भएका थिए। त्यसपछि बादशाहको जीवनमा ईशा रिखी आएकी थिइन्।