दृश्य टिभि
९ साउन, काठमाडौं । ‘ल अब ग्रुपको सबैले पूरा पैसा तिर्ने
९ साउन, काठमाडौं । ‘ल अब ग्रुपको सबैले पूरा पैसा तिर्ने ! यही पर्खालको पारिपट्टि अमेरिका छ,’ मेक्सिकोमा एजेन्टले अन्तिम गन्तव्यमा पुग्न लागेको संकेत दिँदा दाङका सन्देश (२७) मुसुक्क हाँसे ।
चारजना नेपाली र ९ जना टर्किस नागरिकसहित १३ जनाको समूह लामो समयपछि यसरी मुस्कुराएको थियो । यद्यपि, त्यो लामो समय टिक्नेवाला थिएन ।
राति करिब १२ बजेको थियो, जतिबेला सन्देश मेक्सिको र दक्षिण अमेरिकाको सीमा क्षेत्रमा पुगेका थिए । ‘त्यहाँ पुर्याएर पारि कट्न सेटिङ मिलाउनुपर्छ भन्दै पैसा मागिरहेको थियो,’ उनले सम्झिए, ‘पहिले अरूसँग बुझेका बेला पनि मेक्सिको पुगेपछि सबै पैसा लिन्छ भनेका थिए ।’
यो यात्रा पूरा गर्न ७० लाख रुपैयाँ लाग्ने उनलाई भनिएको थियो । त्यसमध्ये थोरै रकम मात्र बुझाउन बाँकी थियो । तर एजेन्टले समूहमा भएका कोही एकजनाको पैसा पूरा आएन भने पनि सबैको यात्रा रोकिन्छ भनेर डर देखाइरहेका थिए ।
सायद एजेन्टको पैसा उठाउने त्यही शैलीका कारण उनीहरूलाई सीमा क्षेत्रबाट ३० किलोमिटर वर एउटा होस्टलमा राखिएको थियो । ‘एजेन्टहरूको पनि टार्गेट हुँदो हो, हप्तामा कति जनालाई कटाउने भन्ने । बेलुका आउँदै अरू समूहका कतिपयलाई लैजाँदै पनि गरिरहेको थियो,’ उनले सुनाए, ‘हामीलाई चाहिँ त्यहीँ अड्काइरह्यो ।’
त्यो होस्टलमा बसेकाजति सबै विभिन्न मुलुकबाट अमेरिका छिर्न डंकी रुट प्रयोग गरेर हिँडेका अवैध आप्रवासी थिए । ‘विभिन्न देशका मान्छेहरू छुट्टाछुट्टै समूहमा बसेका थिए, हामी नेपालीहरू छुट्टै खाना बनाएर खान्थ्यौं,’ सन्देश सम्झन्छन्, ‘करिब डेढ महिना त्यसरी बसेपछि बल्ल अमेरिका प्रवेश गर्ने पालो आएको जानकारी दिइयो ।’
त्योबीचमा उनले सबै रकम बुझाइसकेका थिए । उनका साथीहरूले समेत जम्मा गरिदिइसकेको खबर उनीहरूलाई दिइएको थियो ।
भर्याङबाट अग्लो पर्खाल चढ्न भने त्यति सहज पनि थिएन । ‘पालैपालो हामीलाई त्यसबाट चढाउन थालियो, पारिपट्टि डोरी हुन्छ भनिएको थियो,’ उनले सुनाए, ‘दुईजना पछाडि मेरो पालो आयो, म तलपट्टि आँखा हेर्दै नहेरी माथि पुगेँ ।’
सन्देशले पहिले सुनेका थिए, मेक्सिको सीमाबाट कतिपयलाई जंगलको बाटो हुँदै राति कटाइदिन्छन् । फिल्महरूमा पनि त्यस्तै देखेका थिए । तर सन्देशसहितको समूहलाई चाहिँ एजेन्टले दिउँसै अमेरिकी सीमा कटाउने भए ।
‘होस्टलबाट त एकाबिहानै निकालेको थियो, गाडीमा बोर्डरै बोर्डर ६/७ घन्टासम्म हिँडायो,’ उनले सुनाए, ‘त्यसपछि एउटा अग्लो पर्खाल अगाडि लगेर रोक्यो ।’
उनका अनुसार, अमेरिका-मेक्सिको सीमामा लगभग दुई/तीन तलाको घरजत्तिको अग्लो पर्खाल थियो ।
उनले पहिल्यै सुनेका थिए, सीमामा पर्खाल नाघेर अमेरिकातिर जाने हो । तर त्यसलाई देख्ने वित्तिकै उनलाई लाग्यो, ‘यत्रो पर्खाल कसरी नाघ्ने ?’
‘जोकोहीलाई त्यो चढ्नुपर्ने भनेर देख्दा सुरुमा जिरिङ्ग हुन्छ’, उनले सुनाए, ‘तर, केही अगाडि एजेन्टहरूले पर्खाल चढ्नलाई भर्याङ राखेका रहेछन् ।’
उनका अनुसार, भर्याङबाट अग्लो पर्खाल चढ्न भने त्यति सहज पनि थिएन । ‘पालैपालो हामीलाई त्यसबाट चढाउन थालियो, पारिपट्टि डोरी हुन्छ भनिएको थियो,’ उनले सुनाए, ‘दुईजना पछाडि मेरो पालो आयो, म तलपट्टि आँखा हेर्दै नहेरी माथि पुगेँ ।’
अर्कोतर्फ एउटा लामो डोरी राखिएको थियो, जहाँ झुण्डिएर तल झर्नुपर्ने थियो । अहिले उनलाई लाग्छ, त्यो कुनै मोबाइल गेमको दृश्यभन्दा कम थिएन ।
यो यस्तो ठाउँ हो, जहाँ छँदा एक-एक सेकेन्डको पनि महत्व ज्यादै हुन्छ । किनकि, अमेरिकी बोर्डर पट्रोल टोली जतिबेलै सीमा क्षेत्र वरिपरि घुमिरहेको हुन्छ, जतिसुकै बेला पक्राउ पर्न सकिने सम्भावना हुन्छ ।
धेरैतिर क्लोज सर्किट (सीसी) टिभी क्यामरा पनि हुन्छ । तर एजेन्टहरूले यो समूहलाई ‘ब्लाइन्ड स्पट’ (सीसी टिभीको कभरेज नहुने ठाउँ) बाट छिराएका थिए ।
‘जसोतसो डोरीमा झुण्डिएर तल झरेँ, केहीबेर पछाडि आउँदै गरेका नेपाली साथीलाई पनि पर्खिएँ’, उनले सम्झिए, ‘थोरै अगाडि बढ्ने वित्तिकै तीनतिर जाने बाटो थियो ।’
पर्खालबाट तल झर्दा त्यहाँ चालचुल थिएन । तर कुन बाटो हुँदै अघि बढ्ने होला भनेर सोच्दासोच्दै पट्रोल टोली आइपुगिहाल्यो ।
‘अगाडि जंगल थियो, त्यहाँ पनि छिर्न नपाउँदै झ्याप्पै समातिहाल्यो,’ उनले त्यो दिन सम्झिए, ‘समात्ने वित्तिकै तस्वीर खिच्यो र केही दूरीमा रहेको फस्ट क्याम्पमा राख्यो ।’
यसरी अमेरिका प्रवेश गर्नुअगावै उनीहरूले राहदानीसहित सबै कागजात फ्याँकिसकेका थिए । सोधपुछमा उनीहरूले मौखिक रूपमा आफ्नो विवरणहरू दिए । त्यसपछि दक्षिण क्यालिफोर्नियाको सान्डियागो शहरमा रहेको डिटेन्सन सेन्टरमा उनलाई ५ दिन जति राखियो । पछि अर्को सेन्टरमा लगेर २ महिना थुनामा राखियो । र, अन्तिममा डिपोर्ट गर्ने आदेश अध्यागमनका अधिकारीहरूले सुनाए ।